एमालेमा उपमहासचिवकाे पद खारेज

काठमाडौं । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनले पार्टीका केन्द्रीय संरचना प्रस्ताव गरेको छ । जसअनुसार अब एमाले केन्द्रीय कमिटी दुई सय २५ सदस्यीय हुने भएको छ ।

एमालेमा अब अध्यक्ष, उपाध्यक्ष पाँच, महासचिव एक, सचिव ६, सदस्य दुई सय १२ जना गरी केन्द्रीय समिति दुई सय २५ सदस्यीय रहने भएको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्ष पदेन केन्द्रीय समिति सदस्य रहने भएका छन् ।

यसअघि एमालेमा दुईजना उपमहासचिव पद थियो । चालू विधान महाधिवेशनमा सो पद खारेज गर्ने प्रस्ताव गरिएको छ । एमाले विधानमा वरिष्ठ नेताको पद पनि हटाइएको छ । यसअघि वरिष्ठ नेता अध्यक्षपछिको वरीयतामा रहन्थे ।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको पद सातजना बनाउनुपर्ने प्रस्ताव गरिएको थियो । तर, विधान महाधिवेशनले पाँचजना बनाउनुपर्ने प्रस्ताव गरेको छ ।