ओसासुनासँग बराबरीमा रोकियो रियल

काठमाडौं : स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न असफल भयो।

३१औं मिनेटमा भिनिसियस जुनियरको शसक्त प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेर्रेराले विफल पारेका थिए। ४४औं मिनेटमा इडुआर्डो कामाभिङ्गाको शसक्त हेड प्रहारमा पनि ओसासुनाका गोलरक्षक सर्जियो बाधक बने।

७५ प्रतिशत बल पोसेसन राखेको रियलले ओसासुनाको डिफेन्स लाइन चिर्न सकेन। खेलभर १७ वटा पोस्ट प्रहार गरेको रियल अन्ततः गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। डिफेन्सिभ रणनिति अपनाएको पाहुना टोली ओसासुना आफ्नो रणनितिमा सफल बन्यो। बराबरीसँगै रियल शीर्षस्थानमा उक्लिएको छ। १० खेलमा ६ जित, तीन बराबर र एक हार खेपेको रियलको २१ अंक छ। ११ खेलबाट १९ अंक बनाएको ओसासुना छैटौं स्थानमा उक्लिएको छ।