अहिलेको गठबन्धन मुलुकप्रति जिम्मेवार भएन : महेश बस्नेत

सुर्खेत : नेकपा (एमाले) का नेता महेश बस्नेतले कांग्रेस, माओवादी र समाजवादी दलहरूबीच भएको गठबन्धन मुलुकप्रति जिम्मेवार नभएको र राजनीतिक इमान्दारिता नरहेको प्रमाणित भइसकेको बताएका छन् ।

उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरूबीच भएको अहिलेको गठबन्धन धोकाबाहेक केही नभएको र सत्तामा आफूमात्र टिकिराख्न एक–अर्कालाई विश्वास घात गर्दै आएको बताए।

प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले हालको गठबन्धन ‘सत्ता घटक दलनै एक–अर्कालाई घात समेत गरिरहेको र त्यसको पुष्टि कर्णालीमा भइसक्यो बताए ।

‘जनताले उनीहरूको एक–एक हिसाब राखिरहेका छन् । गठबन्धन जति लम्बियो एमालेलाई उत्तिनै फाइदा छ,’ नेता बस्नेतले भने । सत्ता साझेदारका जालझेल र स्वार्थ धमाधम सार्वजनिक हुँदै गएको समेत उनले बताए । नेता बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर आएका हुन् ।