कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासकाे मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छन् । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।