दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या

भारत । भारतको राजधानी दिल्लीमा एउटी आमाले आफ्नी दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् । घाँटी थिचेर हत्या गरेपछि महिलाले शिशुलाई ओभनमा हालेकी थिइन् । आमाको बर्बरताको कारण ज्यान गुमाउने शिशुको शव कब्जामा लिएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । घटना दिल्लीको मालवीय नगर थाना क्षेत्रको चिराग दिल्ली गाउँको हो ।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित जानकारी अनुसार चिराग दिल्ली गाउँमा एक महिलाले छोराको साटो छोरी जन्मिएका कारण उनको हत्या गरिदिएकी छिन् । हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।

बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ ।