युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुने ईयूको चेतावनी

काठमाडौं । युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन । यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।

पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए । बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो ।