गठबन्धनका उम्मेदवारले जनताले दिएको मतको सम्मान गर्ने –गगन थापा

काठमाडौं । गठबन्धनका उम्मेदवारले जनताले दिएको मतको सम्मान गर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाई छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी भएको उनको भनाई छ । पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको उनले बताएका छन् ।

महामन्त्री थापाले वि सं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौंको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए । नेता थापाले एक पटक कांग्रेसलाई अवसर दिनसमेत काठमाडौंका आम मतदातासँग आग्रह गरे ।