टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको जित

कैलाली। नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो ।

टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत पाए। उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह ७ हजार ९५५ मतसहित विजयी भएका छन् । उन्मुक्तिका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् ।

त्यस्तै, जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्तिले जितेको छ । चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मतसहित मेयरमा विजयी भएका हुन् । कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे ।उपाध्यक्षमा सोही पार्टीका रेखादेवी कठरिया ४ हजार ५ सय ८९ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे ।