गुराँस गाउँपालिकामा भएको घटनाको छानविन समितिद्वारा काम शुरु

सुर्खेत। दैलेखको गुराँस गाउँपालिकामा भएको घटनाको छानविन गर्न बनेको समितिले काम अघि बढाएको छ । गत शुक्रबार गुराँस गाउँपालिकामा तोडफोड र गोली चलेपछि छानविन गर्न बनेको समितिले काम शुरु गरेको हो । पालिकाले करार कर्मचारी हटाएको विषयलाई लिएर प्रदर्शनमा झडप भएको थियो । प्रदर्शनका क्रममा पालिकाको भवनमा तोडफोड गरेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा प्रहरीतर्फ पाँच जना र प्रदर्शनकारीतर्फ दुई जना घाइते छन् ।

      

उक्त विषयलाई लिएर दैलेखमा बसेको सर्वदलिय बैठकले छानविन गर्न समिति गठन गरेको हो । समितिका संयोजक रहेका दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालसहित ६ सदस्यीय टोली आइतबार गुराँस पुगेर घटनाको वास्तविकता बुझेका थिए । घटनामा उच्छृंखल गराउन आरोप लगाइएका नेपाली काँग्रेस दैलेखका पूर्व सभापति कृष्ण विसी र पार्टीका सचिव एवम् पूर्व अध्यक्ष खेमराज ओलीसँग पनि घटनाबारे जानकारी लिइनेछ ।