कालिकाेटकाे सिम्लेमा हाइस दुर्घटना

कालिकोट ।  कालिकोटको सिम्ले खोलामा हाइस दुर्घटना भएको छ । बिहीबार दिउँसो हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत खाडाचक्र नगरपालिका- ८, सिम्ले खोलामा दिउँसो ३:४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाइस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाइस दुर्घटनाबाट एक जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  न्यौपानेले उक्त हाइसमा करिब २० जना यात्रु सवार रहेको अनुमान गरिएको बताए ।

गाडी कालीकोटको मान्मादेखि नाग्मतर्फ जाँदै गरेको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको छ । मृतक र घाइतेहरुको नाम पुष्टि हुन सकेको छैन ।