रुकुम पश्चिमको गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँ बजेट फ्रिज

रुकुम पश्चिम । रुकुम पश्चिममा गत आर्थिक वर्ष ०७८–७९ मा २ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । संघ तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय तहमा प्राप्त बजेटमध्ये १ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९ सय ७४ रुपैयाँ खर्च हुन नसकेको हो । सार्वजनिक गरिएको महालेखा प्रतिवेदन अनुसार संघभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ ।

तुलनात्मक रूपमा प्रदेश सरकारभन्दा संघ सरकारबाट प्राप्त बजेट खर्च भएको छ । जिलामा ५ अर्ब ९६ करोड ३२ लाख ६२ हजार १ सय ४ रुपैयाँ बजेट आएकोमा ८७.१२ प्रतिशत अर्थात् ५ अर्ब १९ करोड ८५ लाख २६ हजार ३ सय ९६ रुपैयाँ खर्च भएको छ । ७६ करोड ४७ लाख ३५ हजार ७ सय ७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक अशोककुमार रानाले जानकारी दिए ।

प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटमध्ये ६७.२८ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशबाट ३ अर्ब ३८ करोड ७२ लाख ४४ हजार बजेट प्राप्त भएकामा २ अर्ब २७ करोड ९० लाख ८५ हजार ४ सय २१ रुपैयाँ मात्रै खर्च हुन सकेको छ । विभिन्न कार्यालय र आयोजनाको बजेट खर्च हुन नसकेको प्रदेश लेखा इकाइ कार्यालयका निमित्त प्रमुख यामबहादुर पुनले बताए । संघीय कार्यालयका लागि संघ सरकारबाट प्राप्त बजेटमध्ये ४४ करोड ९ लाख ३१ हजार १ सय ८१ रुपैयाँ फ्रिज गएको छ ।