यसपालि गठबन्धन–गठबन्धनबीच अर्को चुनाव हुनेवाला छ–झलनाथ खनाल

काठमाडौं ।आगामी ४ मंसिरको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय आइतबारसम्म टुंगिने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् । आज समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाटमा नेता खनालले यस्तो बताएका हुन । उनले सहमतिको ९० प्रतिशत कोर्स पूरा भएको जानकारी समेत दिएका छन् ।

उनले आगामी चुनाव रोचक हुने बताउँदै यसपालि गठबन्धन–गठबन्धनबीच अर्को चुनाव हुने जिकिर गरेका छन् । नेता खनालले गठबन्धनबीच सहमति भएलगत्तै चुनावी मैदानमा निस्किने बताएका छन् । मुलुकमा वाम एकता इतिहासदेखि अहिलेसम्म उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।उनले आफूलाई कुनै पदको लोभ नभए पनि राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी वहन गर्न तयार रहेको र आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गरिने बताएका छन्।