कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध, आन्तरिक ढुवानी रोक्ने चेतावनी

काठमाडौं। पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएका छन् । सरकारसँग भएको सहमतिअनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै पेट्रोलियम ढुवानी व्यावसायीहरुले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन सुरु गरेका थिए । आफूहरुले राखेको माग सम्बोधन नगरिएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रमहरु थप गरेका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् ।