किताबको ज्ञानसँगै बाहिरी ज्ञान पनि सिक्न आवश्यक : प्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले शिक्षा पढ्ने मात्रै नभएर जीवनलाई बुझ्ने बताएकी छन् । बिहीबार वीरेन्द्रनगरमा भएको प्रतीक्षा मन्टेश्वरी इलिमेन्ट्री स्कुलको शिक्षान्त समारोहमा यस्तो भनेकी हुन् ।

यस्तै, उनले विद्यार्थीको उज्ज्वल भविष्यको कामना सँगै शिक्षा क्षेत्रमा हिजो भन्दा आज परिस्थिति  फेरिएको  बताइन् । उनले भनिन्, ‘किताबको ज्ञान सँगै बाहिरी ज्ञान पनि सिक्नु आवश्यक छ । समाज, साथीभाइ, शिक्षक अभिभावकलाई पनि चिन्नु ठुलो ज्ञान रहन्छ । शिक्षा क्षेत्रमा सकारात्मक धारणाबाट लागि पर्याे भने जुनसुकै कार्य पनि गर्न सकिन्छ । जीवन र शिक्षा महत्त्वपूर्ण हो ।’

बालबालिकाहरूलाई असल सङ्गतको विकास गराउनु पर्ने ढकालले धारणा व्यक्त गरिन । टेलिभिजन, मोबाइल बालबालिकाले चलाईरदा त्यो आवश्यक छ कि छैन भनेर अभिभावले सोच्न पर्ने जरुरी रहेको जिकिर गरिन । आफ्नो बच्चालाई कसैसँग कम्पिर नगरेर अभिभावकले बच्चाको मनोबलको ख्याल गरेर हौसला दिनुपर्ने बताइन् ।

यस्तै, सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले हिजोको दिनमा मन्टेश्वरी चल्दैन भन्नेहरूका लागि प्रतीक्षाले उदाहरणीय कार्य गरेको बताइन्  । ‘बालबालिकालाई शिक्षा दिने मात्रै नभएर संस्कार पनि दिनुपर्छ । पहिलो शिक्षा भनेकै घर हो र घरबाट नै बालबालिकालाई संस्कार सिक्छन् ।’ उनले भनिन् ।

त्यस्तै, प्रतीक्षा मन्टेश्वरी इलिमेन्ट्री स्कुलकी सञ्चालक प्रतीक्षा मल्लले प्रतीक्षा मन्टेश्वरीमा कक्षा ५ सम्म पढाई हुने गरेको बताइन् । उनले भनिन् हाम्रो मन्टेश्वरीमा पढ्ने बालबालिका एक किसिमले दीक्षित भएका छन्। उमेरमा बालबालिकाले पाउने शिक्षा, संस्कार र ज्ञानलाई अब बढ्दै गएको उमेरमा लागु गर्ने छन् । त्यसैले कक्षा ५ का बालबालिकाको दीक्षान्त समारोह गर्ने गरेको छौँ ।’

उक्त विद्यालय २०६७ सालमा सञ्चालन भएको हो । विद्यालयमा २५ जना कर्मचारी कार्यरत रहेका छन् । उक्त विद्यालयमा प्राइमरी, पेल ग्रुप कक्षादेखि कक्षा ५ सम्म पढाई हुने गरेको सञ्चालक मल्लले जानकारी दिइन् ।