प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर ३ कार्यालयको फिल्ड निर्माण गरेको भनेर नभएको कामको नक्कली बिल भर्पाइ बनाई भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेकाहरूमा शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब इन्जिनियर हर्कधन बुढा रहेका छन् । नगरेको कामलाई गरेको भनी ११ लाख ९४ हजार ४ सय बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडाध्यक्ष सालिग्राम ऐडीलाई पनि प्रतिवादी बनाइएको छ ।