सुर्खेत । नेपाली सेनाले सुर्खेतमा ‘एकताका लागि दौड’ `रन फर युनिटी´ प्रतियोगिता आयाेजना गरेको छ । शनिबार भएको कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए ।
‘रन फर युनिटी-२०८०’ प्रतियोगिताको हाफ म्याराथन २१ किलोमिटरमा तातोपानी गाउँपालिका-७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन् ।
नेपाली सेना उत्तरपश्चिम पृतनाले वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् भने एक घण्टा ११ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका हुन् ।
यस्तै, एक घण्टा १२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय भएका छन् ।
दौड प्रतियोगिताका विजयीलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रथम भएका कुँवरलाई रु ३५ हजार, योगीलाई रु २५ हजार र गुरुङलाई रु १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
त्यसैगरी, पुरुषतर्फ १० किलोमिटर दाैडमा धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम भएकी छन् भने जुम्लाका समिता बुढा द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई रु १०, ५ र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गरेका छन् ।
दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई रु १०, ५ र ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कर्णाली राजधानी वीरेन्द्रनगर सुर्खेतको खुल्ला मञ्चमा सेनाले कला केन्द्र, संकेत उपकरण, इन्जिनियरहरु उपकरण, आर्टिलरी उपकरण, प्रकोप उपकरण, हतियार, प्रकृति संरक्षण सम्बन्धी विषयहरु, नेपाली सेनामा भर्ना प्रक्रिया सम्बन्धी र अन्य सम्बन्धित विविध विषयहरुको प्रदर्शनी गरेको थियो ।
(फाेटाेहरु)
ए.के. सञ्चार । १२ फाल्गुन २०८०, शनिबार १८:३९