खाँडाचक्रमा १२१ करार कर्मचारीद्वारा तालाबन्दी, सेवा ठप्प

सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका बेला–बेलामा विवादमा पर्दै आएको छ।

बुधबार करार कर्मचारीहरूले तलब नपाएको भन्दै कार्यालयको मूल गेटमा ताला लगाउँदै अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गर्दै तालाबन्दी गरेका हुन्। खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले जानकारी दिँदै बाँकी ५ जनाले मात्रै तलब पाउँदै आएको बताए।

उनका अनुसार तीमध्ये २१ जना वनका कर्मचारी हुन्, जसले २१ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

उनका अनुसार, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो नदिएको, समस्याप्रति उदासीनता देखाउँदै आएको र नगरप्रमुखदेखि अन्य कर्मचारीहरूबीच दोषारोपण मात्रै हुँदै आएकोले तालाबन्दी गर्न बाध्य भएको हो।

यसैबीच, खाँडाचक्र नगरपालिकाका उप–प्रमुख गणेश बहादुर शाहीले कर्मचारीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै,`समस्याको समाधानका लागि आन्तरिक छलफल सुरु गरिएको बताएका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै कालिकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले पालिकाले लामो समयदेखि गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्दै आएको आरोप लगाए।

सेवाग्राही दिनहुँ पालिकाको ढोका चहारिरहेका हुन्छन्, तर कर्मचारीले तलब नपाउने, सेवासुविधाबाट बञ्चित हुने अवस्था देख्दा दुःख लाग्छ उनले भने,`पहुँचवालाले सुविधा भोग गर्ने र काम गर्ने कर्मचारी उपेक्षित हुने प्रवृत्तिको अन्त्य हुनुपर्छ।`

उनले श्रमको सम्मान हुनुपर्नेमा जोड दिँदै नगर सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।

तालाबन्दीका कारण अहिले नगरपालिकाको सेवा प्रवाह पूर्णरूपमा प्रभावित भएको छ।