भेरी–बबई डाइभर्सन आयोजनाको निर्माणमा २ अर्ब ७ करोड विनियोजन




सुर्खेत । सरकारले बबई, रानी जमरा कुलरिया, महाकाली तथा प्रगन्ना बड्कापथ सिँचाइ आयोजनाहरू आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिक्टा र वृहत दाङ उपत्यका सिँचाइ आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइने जानकारी दिए।

त्यस्तै, भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्कस् र पावरहाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसाथ सरकारको तर्फबाट २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।

सरकारले सिँचाइ पूर्वाधारको निर्माण तीव्र पार्दै कृषि उत्पादन वृद्धि र कृषिमा निर्भर जनताको जीवनस्तर उकास्ने उद्देश्य लिएको अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार