२०८२ असार ८ , आइतबार

स्वरोजगार र सीप विकासमा जोड, कर्णालीमा युवा उद्यमशीलता सम्मेलन



सुर्खेत । कर्णाली प्रदेशमा युवा स्वरोजगार, उद्यमशीलता र सीप विकासलाई प्राथमिकतामा राख्दै राजधानी सुर्खेतमा प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ।

शुक्रबार राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको सम्मेलनमा कर्णालीका युवालाई रोजगारीका लागि राजधानी या विदेशमा धाउनुपर्ने अवस्थाबाट मुक्त गराउँदै उनीहरूलाई आफ्नै ठाउँमा उद्यमशील बनाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित भएको सम्मेलनमा कर्णालीका सम्भावना र स्रोतहरूलाई उपयोग गर्दै आत्मनिर्भर युवाशक्ति निर्माण गर्नुपर्ने धारणा वक्ताहरूले राखेका थिए।

मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली बिगतमा राज्यसत्ताको बेवास्तामा परेको भए पनि अब समृद्धिको ढोका खोल्दै अघि बढिरहेको बताए। उनले भने,`आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना र उद्यमशीलतालाई उच्च प्राथमिकता दिइएको छ।` उनले युवाहरूलाई संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालन गरिएका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले कर्णालीका युवालाई आत्मनिर्भर बनाउन बजेटमै विशेष योजना समावेश गरिएको दाबी गरे। `देशभित्रै अवसर देख्ने वातावरण बनाउने जिम्मा अब सरकारकै हो,`उनले भने।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित स्रोतसाधनका बीच युवामुखी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै भने,`कर्णालीका सम्भावनालाई मूर्त रुप दिन युवा उद्यमशीलताको वातावरण अपरिहार्य छ।`

पूर्वआर्थिक मामिलामन्त्री एवं लेखा समिति सभापति विन्दमान विष्टले कर्णालीको भौगोलिक र सामाजिक विशेषता अनुसार उद्यममैत्री नीति आवश्यक रहेको बताए। `युवाको सिर्जनशीलतालाई अवसरमा रूपान्तरण गर्न सबै दलले साझा एजेन्डा तय गर्नुपर्छ,` उनले भने।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशीलताको प्रवर्द्धनमा स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँच जस्ता विषयहरू समेटेर सम्मेलनको संरचना तयार गरिएको जानकारी दिए।

`तीनै तहका सरकारको योजना कार्यान्वयनमा ध्यान नदिँदा युवामा निराशा बढिरहेको छ,`उनले स्पष्ट पारे।

कर्णाली योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको भौगोलिक विविधता, आवश्यकताहरू र अवसरलाई आधार बनाएर रणनीतिक विकास योजना बनाइने बताए।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सीप विकास कार्यक्रमलाई स्थानीय तहको प्राथमिकतामा राखिएको बताइन्। उनले भनिन्,`युवा रोजगारी सिर्जना गर्न हामीले सीपमूलक तालिम, सहुलियत कर्जा र उद्यम प्रारम्भका पहलहरूमा लगानी बढाएका छौं।`

युवानेता भूपेन्द्रजंग शाहीले भने सरकारका थुप्रै योजना कार्यान्वयनमै कमजोर भएको आरोप लगाए। उनले भने, `योजना बनाइन्छ, प्रचार पनि हुन्छ, तर स्थानीय युवाले त्यसको अनुभूति गर्न पाएका छैनन्।`

सम्मेलनमा ‘पढ्दै कमाउँदै’ अभियानका अगुवा नारायण सिग्देल, उद्यमी भद्र भण्डारीलगायत विभिन्न क्षेत्रका सफल उद्यमी तथा अभियन्ताहरूले आ–आफ्ना संघर्ष र सफलता बाँडेका थिए।

कर्णालीका विभिन्न जिल्लाबाट अनलाइनमार्फत छनोट भएका नवोदित उद्यमी सहभागी बनेका थिए। उनीहरूले खुला छलफल सत्रमा आफ्ना अनुभव र चुनौतीहरू प्रस्तुत गरे।

राष्ट्रिय युवा परिषद्का अनुसार यसअघि कोशी, मधेश र गण्डकी प्रदेशमा यस्तै सम्मेलन आयोजना भइसकेका छन् भने बाँकी प्रदेशमा पनि चाँडै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार