सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्।

आगामी वर्षका लागि कुल ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याइएको छ। यो चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो। हाल कार्यान्वयनमा रहेको बजेट भने ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको छ।
बजेटको संरचनाअनुसार, चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार जसमा२४.३१ प्रतिशत, पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार कुल बजेटको ५८.३१ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ ५० करोड जसमा १.४१ प्रतिशत विनियोजन गरिएको छ।
सरकारले बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोतबाट ८५ करोड ५ लाख ९० हजार संकलन गर्ने र चालु वर्षमा खर्च नभई बाँकी रहने करिब ६ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ परिचालन गर्ने जनाएको छ।
त्यसैगरी, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब ६६ करोड ५० लाख ४९ हजार, वित्तीय समानीकरण अनुदान १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदान ५ अर्ब ६७ करोड २५ लाख प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, समपुरक अनुदानतर्फ ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ ४८ करोड ५६ लाख रुपैयाँ जुटाइनेछ।
मन्त्रालयगत रूपमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई १० अर्ब ९३ करोड ८१ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसपछि सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड ५ लाख ९५ हजार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई ४ अर्ब ८१ करोड ९५ लाख ८६ हजार बजेट दिइएको छ।
त्यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब ५२ करोड ८७ लाख ६८ हजार, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ३७ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ।
स्थानीय तहका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार जसमा १५.६७ प्रतिशत बजेट पठाइनेछ। यसअन्तर्गत वित्तीय समानीकरण अनुदान बढाएर १ अर्ब रुपैयाँ, समपुरक अनुदान १ अर्ब १८ करोड ५० लाख, विशेष अनुदान ४८ करोड ५० लाख, र सशर्त अनुदान १ अर्ब ७३ करोड ६१ लाख ८० हजार रुपैयाँ रहनेछ।
यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहलाई १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ पठाइने अर्थमन्त्री शाहले जानकारी दिएका छन्।









