बाँके । बाँकेको जानकी गाउँपालिका–२, बिहानी चोकमा सामूहिक तथा एकल खुला तीज नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। बिहानी युवा क्लब तथा भैयापुर महिला समूह, बाँकेको आयोजनामा आगामी भदौ २७ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता बिहान १० बजेदेखि जानकी गाउँपालिका–२ स्थित बिहानी चोकमा सञ्चालन हुने आयोजकले जनाएको छ। तीज नृत्य प्रतियोगिताबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गर्ने आयोजकको भनाइ छ।
प्रतियोगितामा सामूहिकतर्फ प्रथम हुने समूहले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुने समूहले २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
सामूहिक नृत्यमा कम्तीमा ५ देखि बढीमा ८ जना सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। सामूहिक नृत्यका लागि ८ मिनेट र एकल नृत्यका लागि ५ मिनेटसम्मको समय निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रस्तुत गरिने गीत नेपाली मौलिक संस्कृति झल्किने खालको हुनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन सामूहिकतर्फ १ हजार ५ सय र एकलतर्फ १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दर्ता भदौ १५ गतेदेखि २५ गतेसम्म गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितालाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोड्दै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको जनाएको छ। साथै, भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।









