मुगु। नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले झण्डै २ घण्टाभन्दा लामो समय लगाएर संघीय बजेट सार्वजनिक गरे ।१७ खर्ब ८३ अरब ८३ करोड बजेट सार्वजनिक गर्दा मुगुलाई समेटिने गरी खासै कार्यक्रम आउन सकेन ।
यहाँका सडक, पर्यटकीय स्थल, धार्मिक स्थल, ग्रामीण सडक होस वा पर्यटकीय मार्ग कुनै विषयलाई समेटिने गरी ठोस बजेट विनियोजन नगरिएको स्थानीयको गुनासो छ ।वर्षौदेखि स्तरोन्नति हुन नसकेको नाग्म गमगढी सडक बजेटमा समावेश गरिए पनि खासै बजेट विनियोजित रकम कति हो भनेर तोकिएको छैन ।
अर्को कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रसिद्ध धाम छायानाथ पर्यटकीय पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध गर्ने भनिए पनि कुन निकाय कसलाई भनिने कुनै निश्चित नगरिँदा यहाँका नागरिक अलमलमा परेका छन् । यसले मुगुलाई राज्यले सधैँ उपेक्षित गरेको बुझिन्छ ।
बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, गमगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिजिउला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन ।बर्सेनि संघीय बजेट सार्वजनिक गरिन्छ तर दुर्गम जिल्ला मुगुका कुनै गौरवका योजना कहिले समेटिदैन ।
चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायानाथ धाम जस्ता धार्मिक स्थलको लागि कहिले लोकप्रिय बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई सधैँ उपेक्षा गरिएको नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले बताए ।
गमगढी नाक्चेलाग्नासम्मको सडकको नामै नसुनिएको रारा छायानाथ पर्यटकीय पथमार्ग बनाउन बारे निजी क्षेत्रलाई आग्रह गरिने कुराले मुगुलाई साँच्चै संघीय सरकारले उपेक्षामा राखेको मल्लको भनाई छ ।
बर्षेनी संघीय बजेट आउँछ जान्छ तर मुगु र मुगालीको लागि कुनै गौरवको योजना समेटिने गरी ठूलो बजेट सरकारले छुट्याउन सकेको छैन र कन्जुस्याइँ गरेको स्थानीयको गुनासो छ ।
ए.के. सञ्चार । १७ जेष्ठ २०७९, मंगलवार ०६:५८