नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । शनिवारसम्म संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ३१५ थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण भएकोमा ३१५ जना संक्रमित थपिएका प्रवक्ता गौतमले बताए । उनका अनुसार हाल ५०० भन्दा बढी सक्रमित रहेका जिल्ला रौतहत र कैलाली छन् । नेपालमा हालसम्म देखिएका २० हजार ८६ संक्रमितमध्ये ७२.१% अर्थात् १४ हजार ४९२ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल अस्पतालमा सक्रिय संक्रमित ५ हजार ३३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टीनमा ११ हजार ५३३ जना रहेका छन् । लकडाउन अन्त्य हुनुअघिका ११ दिनमा ४७ हजार ८७७ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३४५ जनामा संक्रमण देखिएको थियो भने लकडाउन अन्त्यपछिका ११ दिनमा ५८ हजार १७४ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ९२ जनामा संक्रमण देखिएको छ । यसरी लकडाउन अन्त्य हुनुअघि र पछिका ११ दिनको तुलना गर्दा संक्रमण ०.८ प्रतिशतले बढेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले स्थलमार्गबाट सीमा नाकामा आएका व्यक्तिलाई सीमावर्ती स्थानीय तहले क्वारेन्टीनमा राखेर स्वाब संकलन गरी पीसीआर जाँच गराउन समेत आग्रह गरेको छ । पीसीआर रिपोर्टका आधारमा भारतबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ । सिंहदरबारभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भौतिक दूरी कायम नगरेको, मास्क नलगाएको, चिउडोमा लगाएको पाइएकाले सावधानी अपनाउन समेत प्रवक्ता गौतमले आग्रह गरे । २५ जनाभन्दा बढी मानिस जम्मा हुने, कार्यक्रम, गोष्ठी, सभा, जुलुस, धार्मिक कार्य गर्ने गरेको पाइएकाले यस्तो नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

कारागार, हिरासत, सुधारगृह, पुनःस्थापना केन्द्रमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेको र भौतिक संरचनाको अवस्था हेर्दा भौतिक दूरी कायम गरिराख्न सकिने अवस्था नभए पनि कोभिड रोकथामका लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सफासुग्धर भइ बस्न अनुरोध गरिएको छ । ‘त्यस्ता स्थानमा जीवनयापनका लागि दैनिक उपभोग्य वस्तुहरू बाहिरबाट खरिद गरी भित्र लैजानुपर्ने हुन्छ, उपभोग्य वस्तु भित्र्याउँदा राम्ररी सफा गरी निर्मलीकरण गरेर भित्र्याउन सम्बन्धित सबै पक्षलाई विनम्रतापूर्वक अनुरोध गर्दछौं,’ प्रवक्ता गौतमले भने ।