राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी, भोलिबाट सुरु हुदै

काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरू रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरू पेश हुनेपनि उनले बताए । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरूको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टीजेन परीक्षण गरिएको छ ।