झन्डै २ हजार क्विन्टल चामल बिक्री वितरणमा रोक

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको झन्डै २ हजार क्विन्टल चामल बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय सुर्खेतको संयुक्त टोलीले असोज ६ गते गोदाममा अनुगमन गरी बिक्रीका लागि राखिएको १ हजार ९ सय ७५ क्विन्टल बासमती चामल बिक्रीमा रोक लगाइएको खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।

बेचबिखनमा रोक लगाई नष्ट गर्न सुझाव दिइएको चामल कम्पनीको काठमाडौं स्थित कार्यालयले कर्णालीमा पठाएको समाचार असोज ६ गते राजधानी दैनिकमा प्रकाशन भएपछि अनुगमन गरिएको थापाले बताए ।

चामलको गुणस्तर जाँच गरिदिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंलाई पत्राचार गरेको उहाँको भनाइ छ । साउन १५ यता प्रादेशिक कार्यालयमा २ हजार क्विन्टल चामल आएको र आफूहरूले समेत त्यहि चामल प्रयोग गरिरहेको कम्पनीका लेखा सहायक विनोद पौडेलले बताए । उनका अनुसार कौशल एग्रो राइस मिल, लहानले २०७७ कात्तिक १६ मा उक्त चामल प्याकेजिङ गरेको हो ।