ओमानसँग नेपालको लज्जास्पद हार

काठमाडौं : नेपालले ओमानसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो।

कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २-१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन्। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए।

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।