च्याम्पियन्स लिगमा ग्वार्डिओलाविरुद्ध मेसी

काठमाडौं : एक समयका चर्चित जोडी म्यानेजर पेप ग्वार्डिओला र लियोनेल मेसी आज पुन: एक पटक फरक-फरक क्लबबाट प्रतिस्पर्धा गर्दै छन्। विश्वमा लियोनेल मेसी र पेप ग्वार्डीओलाले कुनै समय एकसाथ रहँदा बार्सिलोनामा उनीहरुले सँगै १४ ट्रफि जितेका थिए। अहिले मेसीले पनि बार्सिलोना छाडेर पिएसजी गएका छन्।

पिएसजीबाट केहि खेल खेलिसक्दा उनले गोल गर्न सकेका छैनन्। त्यसैले आज पूर्व प्रशिक्षकविरुद्ध उनले गोलको खाता खोल्ने प्रतिक्षा छ। तर विश्व क्लब फुटबलमा सर्वाधिक लगानी रहेका दुई क्लबबीचको प्रतिस्पर्धामा कस्ले बाजि मार्ला त्यो भने प्रतीक्षाका रुपमा रहने छ।

फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानेचस्टर सिटीविरुद्ध आफनो मैदानमा खेल्दै गर्दा मुख्य रुपमा विश्व स्टार खेलाडीको घम्साघम्सीको रुपमा समेत खेल रहने छ। त्यसो त पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई च्याम्पियन्स लिगमा स्टार खेलाडीको ब्यवस्थापनका साथ राम्रो नतिजा दिलाउनु पर्नै चुनौती सर्वाधिक माथि छ।

लियोनल मेसी, नेयमार र केलियन एमबाप्पे अग्रपंक्तिको मुख्य हतियारका रुपमा रहँदा इकार्डी, एंजल डी मारिया र डिफेन्समा पनि उतिकै चुनौती हुने छ। ब्रगविरुद्धको पहिलो खेलमा पोचेटिनोले मेस्सी, नेयमार र एमबाप्पेलाई उतारे पनि उनीहरु सोचेजस्तो चल्न भने सकेनन्।

घुँडाका चोटका कारण मेसी पछिल्ला दुई खेलमा देखिएका छैनन्। त्यसैले उनी आज हुने सिटी विरुद्धको खेलमा मैदान फर्कने विश्वास गरिएको छ। मंगलबार रातीनै हुने अन्य खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडको सामना गर्दा आयाक्स र बेसिकटास आमनेसामने हुनेछन्। त्यस्तै इन्टर मिलान र सख्तर डोनेस्क, तथा लिभरपुल र पोर्टो समेत प्रतिस्पर्धा गर्नै छन्।