इटाली अपराजित यात्रामा बिराम

काठमाडौं : युरो च्याम्पियन इटाली अन्ततः स्पेनसँग पराजित भएको छ। २०१८ यता लगातार ३७ खेलमा अपराजित रहँदै विश्व कीर्तिमान कायम गरेको इटाली ३८ औं खेलमा पराजित भयो। इटालीको घरेलु मैदान सान सारियो मा भएको युएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली स्पेनसँग २-१ ले पराजित भएको हो।

बुधबार राति भएको खेलमा इटाली पहिलो हाफमानै १० खेलाडीमा सिमित भएको थियो। स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे। घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले अन्तिम समयमा एक गोल फर्काएका थिए।

१७ औं मिनेटमा पहिलो गोल खाएको इटाली ४२औँ मिनेटमा १० खेलाडीमा समेटियो। लियोनाद्रो बोनुची दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इटाली स्वभाविक दबाबमा देखियो। यद्यपि त्यसअघि १७औँ मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनलेको अग्रता लिएको थियो।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए। ८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए पनि हार टार्न सकेन।

इटाली सन् २०१८ को सेप्टेम्वरमा नेसन्स लिगमै पोर्चुगलसँग १-० ले पराजित भएयता लगातार ३७ खेलसम्म अपराजित रह्यो। इटाली ३८औं खेलमा भने स्पेनसँग हार भोग्न बाध्य भयो। इटालीले आफ्नो अपराजित यात्रामा २८ जित र ९ बराबरी गरेको छ। यो अवधिमा इटालीले ९३ गोल गर्दा १२ गोल खाएको छ।

यस्तै स्पेनले गत जुन जुलाईमा भएको युरोकपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भोगेको हारको बदला लिन सफल रह्यो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि इटालीले पेनाल्टी सुटआउटमा ४-२ ले स्पेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।