सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।
माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले साेमबार (हिजाे ) मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ ।
गएको बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति भएको थियो ।
त्यही सहमतिअनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।
४० जना सांसद रहेको कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय छ । एमालेका चार सांसद कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद एमालेमा गएपछि पद रिक्त छ । कर्णालीमा नेकपा (एकीकृत सामाजवादी)का तीन जना सांसद छन् ।
ए.के. सञ्चार । १६ कार्तिक २०७८, मंगलवार १२:५५