नागरिकको समस्याप्रति जिम्मेवार हुन : सभापति भण्डारीको निर्देशन

सुर्खेत । नेपाली कांग्रेसका बराहताल गाउँ कार्यपालिका सभापति भिम बहादुर भण्डारीले वडाका सभापतिलाई नागरिकको समस्याप्रति जिम्मेवार हुन निर्देशन दिएका छन् ।

उनले आइतबार पालिकाको पहिलो बैठकमा बोल्दै पालिकाको विकास निर्माण र पार्टी संगठनलाई गतिशिल बनाउनका लागि सबै वडा सभापतिको महत्वपुर्ण भुमिका रहने बताए । उनले कार्यसमितिको पहिलो बैठकबाट आफुबाट पराजित भवान सिंह सिजापतिलाई वरिष्ठ सदस्यका रुपमा मनोनित गरेका छन् ।
‘अब बराहताल गाउँपालिकामा कुनै पनि नागरिकले पाउने सेवा सुविधाबाट बञ्चित नहुन, सबै वडाका सभापतिहरुको महत्पुर्ण भूमिका छ,’सभापति भण्डारीले भने, ‘यहाँका कुनै पनि अधुरा विकास निर्माणका कामहरुमा निर्वाचित जनप्रतिनिधिहरुसँग समन्वय गरी ती कामहरुलाई अगाडी बढाउन समन्वयात्मक भूमिका खेल्नुपर्छ ।’

यस्तै पालिकाको पहिलो बैठकबाट नेपाली कांग्रेस बराहताल गाउँपालिकाको पार्टी कार्यालय बड्डीचौरको सालघारीमा स्थापना गर्ने निर्णय गरिएको छ । जनताको कामलाई छिटो छरिता र सहज बनाउनका लागि पालिकाका कर्मचारीहरुसँगै समन्वयात्मक गर्नका लागि परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरिएको नेपाली कांग्रेस बराहताल गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनले पश्चिम क्षेत्रका स्वर्गीय नेता तप्त विष्टको विकास निर्माणको सपना पुरा गर्न जनताको घर दैलो र गाउँ बस्तीमा पुगि सबै नेता कार्यकर्ताले अभियानका रुपमा जुट्न अनुरोध गरे । यस्तै आगामी मासिक बैठकमा वडा सभापतिहरुले टोल समिति गठन गरी अर्को मासिक बैठकमा पालिका स्तरीय समितिलाई जानकारी दिने निर्णय गरिएको छ ।

पालिका स्तरीय विभिन्न भातृ संघ संगठनलाई परिचालन गरी पार्टीका क्रियाकलापलाई चुस्त दुरुस्त गर्न पालिका कमिटीले निर्देशन गर्ने सभापति भण्डारीले बताए । सभापति भण्डारीले नेपाली काग्रेसलाई एक ढिक्का बनाई साझा कांग्रेसको रुपमा अगाडी बढाउने बताए ।

आफु समग्र कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने भएकोले सबैको साझा सभापति भएको उनको भनाई छ । उनले वडाहरु घुम्ने क्रममा वडा नम्बर ४ का गाउँ बस्तीमा रहेका अधुरा धार्मिक क्षेत्रका पूर्वाधारहरुलाई पुरा गर्न सरोकारवालसँग समन्वयात्मक भूमिका खेल्ने र यदी नभएको खण्डमा व्यक्तिगतरुपमा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
सभापति निर्वाचित भएपछि भण्डारीले बराहताल वडा नम्बर १,२, ३, ४ का टोल छिमेकमा पुगी कार्यकर्ता र नागरिकको समस्याहरुको बारेमा जानकारी लिएका छन् ।