सुर्खेतमा १५ अर्बकाे लगानीमा सिमेन्ट उद्योग संञ्चालनमा ल्याइदै

सुर्खेत । कर्णाली प्रदेश सरकार र सुर्खेतमा स्थापना हुन लागेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालकबीच सोमबार छलफल भएको छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो ।


मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनु भयो । उहाँले खानी र उद्योगसम्म सडक तथा पानी पु¥याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने बताउनु भयो ।

‘बाह्य लगानी नआउँदासम्म कर्णालीको विकास हुँदैन्,’ छलफलमा मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘बाह्य लगानी भित्र्याउन प्रदेश सरकार आवश्यक सहजीकरण र समन्वय गर्न तयार छ ।’ उहाँले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने बताउनु भयो ।

झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्नेछ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुंग्याएको छ ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ती भइसकेको र पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको प्रक्रियामा रहेको बताउनु भयो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरेको छ ।

उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । छलफल कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।