दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएका अर्घाखाँचीका चार अनुहार

काठमाडौं । वैशाख १३ गते
अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तीव्र बनेको छ । सत्तापक्षीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा अघिल्लो पटक नेतृत्व गरिसकेका चार जनप्रतिनिधि राजिनामा दिएर फेरि उम्मेदवार बनेका छन् ।

रेशम थापाले भूमिकास्थान नगरपालिका मेयरमा एमालेबाट उम्मेदवारी दिएका छन् । अघिल्लो पटक कांग्रेसको सहयोगमा माओवादी केन्द्रबाट मेयर बनेका थापालाई यो पटक एमालेले उम्मेदवार बनाएको हो । उनले यो पटक गठबन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने छ ।अच्युत गौतमले पाणिनी गाउँपालिका अध्यक्ष बनिसकेका फेरि उम्मेदवारी दिएका छन् । कांग्रेसका जिल्ला सचिवसमेत रहेका गौतमले यो पटक एमालेका नेता टेकराज न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

शितगंगा नगरपालिका उपमेयर बनिसकेका टीका रेश्मीले नेकपा माओवादीबाट फेरि उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका तत्कालीन नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहितका नेताले एमाले रोज्दा रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुनस् टिकट दिएको हो । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गीता भाटसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

एमालेबाट फाणिनी गाउँपालिकामा निर्वाचित भई एक कार्यकाल पूरा गरेकी लक्ष्मी गौतमले दोस्रो कार्यकालका लागि पनि पुनस् उम्मेदवार बनेकी छन् । उनी अघिल्लो पटक एमालेबाट उपाध्यक्ष बनेकी थिइन् ।तर, उनले बीचमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुँदै काँग्रेस प्रवेश गरेकी थिइन् । अहिले गौतमलाई कांग्रेसले दोस्रो कार्यकालका लागि उपाध्यक्षमा टिकट दिएको हो । गौतमले एमालेकी नेतृ नर्मदा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।