एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरी लाग्नु पर्छ –प्रकाशमान सिंह

काठमाडौं । स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् । आज बिहान चन्द्रागिरी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उम्मेदवारहरुलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन ।चन्द्रागिरीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उम्मेदवार छन् ।

एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरी लाग्नु पर्ने नेता सिंहले बताए । उनले ३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार–प्रसार गर्नुभयो भने राम्रो हुने बताए । गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरेका छन् ।

‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक रहेको उनको भनाई । हामी सबैले याद गरौं, प्रथम संविधासभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको भन्दै नेता सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक संविधान र ब्यवस्थामाथि प्रहार गरेकाले संविधान र ब्यवस्था जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता रहेको कुरा बुझ्नसमेत आग्रह गरे ।