कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिदै

कैलाली । कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ ।मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ । केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उनले बताए ।‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेको भट्टले बताए ।

उनले कैलालीका सबै ठाउँमा निर्वाचको तयारी अन्तिम चरणमा पुगेको बताए । सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामग्री पुगिसकेको छ ।कैलालीमा २ सय ३६ मतदान स्थल तोकिएकामा ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका छन् ।५२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ ।