हुम्लाको याङ्चुमा झडप हुँदा तीन जना घाइते

हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् ।

६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ ।घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए ।हुम्लाका विभिन्न स्थानमा झडप भएको छ । सर्केगाड गाउँपालिका दुल्लुमा समेत झडप हुँदा घाइते भएकाहरूलाई अहिले हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल लगिएको छ ।