आज पन्ध्रौँ गणतन्त्र दिवस, प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौं ।लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका छन् ।

इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्नुहुने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको प्रधानमन्त्री देउवाले बताएका छन् । विसं २०६५ जेठ १५ गते संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।