नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र हो–प्रधानमन्त्री

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दिक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१औँ शताब्दीमा पनि महत्वपूर्ण छ भन्दै आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको बताए ।

बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको छ,ु प्रधानमन्त्री देउवाले भने । उनले सम्भावना र चुनौतीको यो संयोगले अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकुल हुन ऊर्जा दिइरहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउँदै उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएउनले नखोजिएका पुरातात्त्विक सम्पदा खोज्न र सांस्कृतिक विरासतको समृद्धि फैलाउन आग्रह गर्दै मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवर्द्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताए ।

उनले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनोपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याए ।

प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गरे । उनले शाक्यमुनिले ४५ वर्ष अनवरत गरेको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताए ।

विश्वविद्यालयले आफूलाई बौद्ध दर्शन तथा शिक्षा पद्धतिको अध्ययन अध्यापनमा थप आकर्षक एवं अनुसन्धानमुखी कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।प्रधानमन्त्री देउवाले लामो इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि सदैव चासोको महत्वपूर्ण सम्पदाका रुपमा रहेको बताए ।