गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ–शंकर पोखरेल

सुर्खेत । स्थानीय तह निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउँदै संसदीय निर्वाचन जित्ने आधार पनि तयार भएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भनाई छ । स्थानीय तहको निर्वाचनको नतिजाले पार्टीलाई प्रदेश र प्रतिनिधिसभाको चुनाव जित्ने आधार तयार गरेको उनले बताएका छन् । महासचिव पोखरेलले पार्टीको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय कमिटी बैठकमा बोल्दै जनमत बढेकाले चुनाव जित्न सहज हुने बताएका छन् ।

महासचिव पोखरेलले गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको जिकिर गरेका छन् । उनले स्थानीय तहको चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य पनि बढाएको देखिएको उल्लेख गरेका छन् । अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रूपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको महासचिव पोखरेलको भनाई छ ।