हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?

सुर्खेत ।आर्थिक वर्ष २०७९–८० बजेटमाथि छलफल क्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट बाँड्ने समयमा मन्त्री नभएकै राम्रो हुने भन्दै पीडा पोखे । उनले भने, ‘मुख्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्रीले गाली गर्ने, पार्टीले दबाब दिने, माननीय सांसदहरू सबैबाट आरोप मात्रै लाग्ने । ’ प्रदेशसभाको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पहिला आफै मन्त्री हुँदा जसले कमिसन खाएर बजेटमा योजना हाले अहिले उनहरूले नै कमिसन खाएर योजना हालेको आरोप लगाएको बताए ।

यो भन्दा अगाडिका मन्त्रीहरूले कहिले पनि बजेट बनाउँदा सांसदहरूलाई फोन गरेर योजना माग नगरेको बताउँउदै उनले सबैलाई फोन गरेर योजना दिन आग्रह गरेको दावी गरे । उनीहरूको माग अनुसार नै सबैका दुई ,दुई योजना समेटेको समेत बताए । समानुपातिक माननीयले पनि एक करोड पाए , प्रत्यक्षले चार करोड दिएर पूर्वाधार कार्यक्रम सञ्चालनमा ल्याइएको समेत उनले जानकारी दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले आफ्नो योजना एउटा पनि नपारेको भन्दै पीडा सुनाएका मन्त्री रोकायले उनको योजना परेको जानकारी दिए । डोल्पाकी प्रदेशसभा सदस्य पदमीक्वारी बोहरालाई ुमाननीय सम्धीनी ज्यूु भन्दै मन्त्री रोकायले तपाईको पनि योजना हालिदिएको छु । तपाई किन अनाआवश्यक आरोप लगाउनुहुन्छ । बरु मैले एउटा कान्छो छोराको सम्ध्यालो डोल्पा भएकाले एउटा योजना त्यहाँ हालेको छु के अचम्म भयो र रु उनले भने ।

उनले भने, ‘माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’ साथै उनले आफ्नो मन्त्रालयको बजेट बाँडफाँट गर्न नपाएको गुनासो गरे । उनले भने, ‘हाम्रो मन्त्रालयमा १० अर्ब ९२ करोड छ । त्यसमा मैले जम्मै ६८ करोड बाढ्न पाएको छु । अन्य मन्त्रालयमा डेढ अर्बभन्दा बढी बाँडफाँड गरेका छन् । हाम्रो मन्त्रालयमा नयाँ १६१ वटा योजना छन् ।’

उनले सुरुमा सरकारले अधूरा आयोजना पूरा गर्ने भनेर भने पनि अन्तिममा नयाँ योजनाहरू बढी आएको बताए । ‘बहुवर्षीय ४१ जना छन्,’ उनले भने, ‘पहिला बजेट बढी हुन्थ्यो । क्रमागत थिएन । जनता सडक आठ करोड निर्वाचन क्षेत्र कोष पाँच करोड बाँकी एक करोडका दरमा सबै माननीयले योजना पाउनुहुन्थ्यो । अनि सन्तुष्ट हुनुहुन्थ्यो । अहिले जम्मा दुई वटा योजना पाउनुभयो कसरी सन्तुष्ट हुनुहन्थ्यो ?

ुबजेट सिलिङ गर्दा मुख्यमन्त्रीको अगाडि म आफूमात्र उभिएको थिएँ,’ उनले भने, ‘जम्मा आठ अर्ब ८८ करोड बजेट बाँड्नुपर्ने जानकारी दिएँ । त्यसमा पनि बहुवर्षीय र क्रमागतमा हो । बाँढ्ने जम्मा २० करोड मात्र राखिएको थियो । मैले त्यसै गरेको हुँ । तर, अहिले सांसदहरूका मन फेरिए । अनि कसरी सन्तुष्ट हुने ?

शनिबारको बैठकमा एमाले सांसद राजु नेपालीले ‘नबोली, नबोली कर्णालीको विकास रातो किताब आयो, योजना मन्त्रीका स्वकीय, छोराछोरीलाई भयो ।’ भन्दै गीति टुक्काबाट प्रश्न गरेकी थिइन् । मन्त्री रोकायाले पनि प्रश्नको जवाफ टुक्काबाटै दिन्छु भन्दै भने, ‘अरलाई भन्नुभन्दा हिजोका दिन हेर ।आफै मन्त्री भएका मान्छे ०८९–८० बजेट कोइ नफाल्या खेर ।’