बैतडीमा भूमि आयोग, सम्झौतामा स्थानीय तहहरुको वेवास्ता

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन । १० स्थानीय तह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा आयोगले कामको सुरुवात नै गरेको छैन । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा काम सुरु भएको छ भने, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले आयोगसँग सम्झौता गरेका छन् ।

जिल्लाका ७ स्थानीय तहले भूमि आयोगसँग सम्झौतासम्म गरेका छैनन् । आयोग गठन भएका बेला जग्गा प्राप्त हुने आस बोकेका व्यक्तिहरुमा निराशा छाएको अधिकारकर्मी राजुराज भुलले बताए ।

बैतडीमा करिब ९ हजार व्यक्ति सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेको हुनसक्ने भुलको भनाइ छ । भूमिहीनलाई जग्गा प्रदान गर्ने कार्यक्रम स्थानीय तहको उदासीनताका कारण ओझेलमा परेको राष्ट्रिय भूमि आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए ।

स्थानीय तहले आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेपछि आफूहरुले तथ्यांक संकलन गरेर काम अघि बढाउने ऐरले बताए । अहिले जिल्लाको दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिका तथा डिलाशैनी, दोगडाकेदार, सुर्नया र सिगास गाउँपालिकामा ३ पटक पत्राचार गर्दासमेत सम्झौताका लागि आनाकानी गरेको उनले बताए । बैतडीमा आयोग गठन भएको ४ महिना पूरा भैसकेको छ भने काम शून्य जस्तै छ । आयोगका पदाधीकारीहरु काम बिनै तलव खाएर बसेका छन् ।

सम्झौता नगरेका स्थानीय तहहरुले केहि दिनमै सम्झौता गर्ने बताएका छन् । केहि पालिकाका प्रमुखहरु काठमाडौंमै रहेकाले सम्झौता गरेर जिल्ला फिर्ता हुने बताएका छन् । सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सम्झौता एकदुई दिनमा गर्ने बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडौंमा रहेकाले सम्झौता गरेर फर्किने पालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।