नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने

सुर्खेत । कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २९ खेलमा सहभागिता जनाउने भएको छ । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रक्रिया पूरा गरेको हो ।

राष्ट्रिय प्रतियोगितामा छनौटका यसअघि जिल्लाहरुमा छनौट चरणको खेलहरू आयोजना गरिएका थिए । सोपछि प्रदेशस्तरीय खेलाडी छनौट गरिएको हो । गत भदौ १८ गतेदेखि खेलकुद विकास परिषदले प्रदेशस्तरीय टिम छनोट गर्न थालेको थियो । आईतबारदेखि छनौट भएका खेलाडीहरु बन्द प्रशिक्षणमा रहने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

कर्णालीले एथ्लेटिक्स, कराँते, तेक्वाण्दो, बक्सिङ, उसु, भारोत्तोलन, फुटबल, भलिबल, चेस, रग्बी, बास्केटबल, कुस्ति, कबड्डी, ह्याण्डबल, ब्याडमिण्टन, पौडी, क्रिकेट, सुटिङलगायत खेलमा सहभागिता जनाउने सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।