नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन शुक्रबार भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ बजे पोखरा रङ्गशालामा उद्घाटन गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए ।

यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गरे । यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उनले बताए । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उनले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उनले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिए ।

रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ ।

समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो । सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । उद्घाटनकै क्रममा आतिबाजी पड्काइएको छ ।

समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गरेका छन् । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखांकित गरिएको छ ।