वीरेन्द्रनगरमा क्रिकेट खेल मैदानकाे शीलान्यास

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको अभावका खेलाडीहरुले अभ्यासका लागि समस्या झेल्दै आएका थिए ।

अन्तर्राष्ट्रिय अथवा राष्ट्रियस्तरका खेल प्रतियोगितामा सहभागिता जनाउन अभ्यासका लागि खेल मैदान खोज्दै भौतारिनु पर्ने अवस्था अब भने कर्णालीमा अन्त्य हुने भएको छ । १० औंं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिए पनि खेलाडीलाई अभ्यासका लागि खेल मैदानको अभाव रहेको छ । यसैलाई मध्यनजर गर्दै कर्णाली मै पहिलो क्रिकेट खेल मैदानको निर्माण हुने भएको हो ।

वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माणका लागि २०८० मंसिर १५ गते सम्झौता भइ ०८० चैत ३० गते योजना सम्पन्न गर्ने गरि के.पी.डी.डी कन्ट्रक्सन सुर्खेतले निर्माणको जिम्मा लिएको छ ।

७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, क्रिकेट मैदानमा दुबो लगाउने कार्य, ल्याण्ड रक्यापिङ गरि हरियाली गर्ने काम हुने कर्णाली परिषदका सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।

यस्तै, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गरेका छन् ।

मैदानको शुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले क्रिकेट मैदानको निर्माण कार्य सकेपछि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न आग्रह गरेका छन् ।

कर्णाली खेल क्षेत्रमा विस्तारै अघि बढ्दै छ मुख्यमन्त्री शर्माले भने, ‘खेल क्षेत्रलाई कर्णाली समृद्धिको एउटा अङ्गको रुपमा लिएका छौ ।

कर्णाली खेल क्षेत्रमा जगमगाइ रहेको छ । खेल क्षेत्र र संरचनागत रुपमा पनि माथि उठिरहेको छ । खेलाडीले आफ्नो पहिचान बनाउनका लागि पनि माथि उठिरहेका छन् । कर्णाली माथि उठ्ने प्रक्रियामा छ । कर्णाली एकदिन खल क्षेत्रमा जर्याकजुरुक माथि उठ्ने छ र एउटा राष्ट्रिय पहिचान बनाउने छ ।’

कर्णालीको चिसो पानी र जडिबुटी खाएको क्षमताको प्रदर्शन गर्ने वातावरण बनाउनमा लागि पर्ने मुख्यमन्त्री शर्माले बताए ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि पाँच (प) को नीति तथा कार्यक्रम कार्यन्वयन हुँदै गएको बताएका छन् ।

‘समग्र नेपालको क्रिकेट टिममा ९० को दशकमा पूर्वाधारको विकास, पाँच (प) को नीति तथा कार्यक्रम जसमा पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र पुरस्कार गर्ने गरेका छौं’, सदस्य सचिव संज्यालले भने, ‘अब भविष्य सुनौलो छ । नेपालको राष्ट्रिय टिममा कर्णालीका खेलाडीको वर्चश्व कायाम हुनेछ ।’

कर्णाली प्रदेश राष्ट्रिय महिला क्रिकेट खेलाडी करिश्मा शाहीले भौतिक पूर्वाधारको विकास हुने गर्ने र खेलाडीलाई हौसलाको प्रोत्साहन दिनु पर्नेमा जोड दिन आग्रह गरिन् । वर्षमा एउटा टुनामेन्टले मात्रै खेलाडी र खेलकुदको विकास नहुने र वर्ष २/३ वटा टुनामेन्ट भएको भए खेलाडीलाई सहज हुने बताइन् । कर्णालीमा खेलकुद विकासका लागि अझै कर्णाली सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रम खेलाडीलाई प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।