दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो (प्रतीक चिन्ह) र मस्कटसमेत सार्वजनिक गरिने भनिएको थियो, तर गीतमात्रै सार्वजनिक गरिएको हो ।

कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शनिबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन १०० दिनको काउन्ट डाउन सुरु भएको जानकारी दिए ।

उनले भने, ‘समय थोरै छ, गर्नुपर्ने काम धेरै बाँकी छ । अबको सय दिनमा पूरा गर्न पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौं । हालसम्म रंगशालाको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाँकी १० प्रतिशत असोजभित्र सम्पन्न गर्ने सम्झौताअनुसार काम अगाडि बढेको छ ।’

कर्णालीका जिल्लामा पनि केही खेलकुद पूर्वाधारका काम भइरहेको उनले बताए । कर्णालीको पूर्वाधार र बसोबासको व्यवस्थापनले २४ वटा खेल आयोजना गर्न सकिने प्रस्ताव राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको उनको भनाइ छ ।

सामाजिक विकासमन्त्री भण्डारीले खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निमार्ण समयमै सक्न निर्देशन दिए ।

कार्यक्रममा सार्वजनिक गरिने भनिएको लोगो र मस्कट ब्यानरमा राखिएको थियो । जसमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेड पान्डा राखिएको छ । प्रतीक चिह्नमा सात वटा रंग, सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी रेखाकृतिमा राखिएको छ ।