
सुर्खेत । कर्णाली प्रदेशमा वित्तीय साक्षरताको अभिवृद्धि गर्न सुर्खेतमा एकदिने सेयर तालिम सम्पन्न भएको छ।
नेपालिज यङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) सुर्खेत च्याप्टरको आयोजनामा शनिबार वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा सम्पन्न उक्त तालिममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो।
‘सेयर गुरु’का रूपमा परिचित सुबासचन्द्र भट्टराईको प्रशिक्षणमा सम्पन्न तालिम बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन भएको थियो। तालिममा कर्णालीका विभिन्न गाउँबस्तीबाट आएका युवा, व्यवसायी तथा सम्भावित लगानीकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।
तालिममा सेयर बजारमा सुरक्षित तरिकाले कसरी लगानी गर्ने, बजार विश्लेषणका आधार, टेक्निकल र फन्डामेन्टल एनालाइसिस, सेयर छनोट विधि, तथा जोखिम व्यवस्थापनबारे व्यावहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षक भट्टराईले जानकारी दिए। उनले सहभागीहरूलाई सरल, बुझिने र प्रयोगमुखी शैलीमा तालिम दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीजस्तो दूरदराज क्षेत्रमा यस्ता वित्तीय तालिमहरू आवश्यक रहेको बताउँदै दीर्घकालीन लगानी संस्कार विकासमा यसले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले भने, फोरमका अध्यक्ष कमल सुवेदीले युवाहरूमा वित्तीय चेतना विस्तारका लागि तालिम प्रभावकारी भएको उल्लेख गरे। उपाध्यक्ष राजेश बरालले सहभागिहरूको उत्साहले कार्यक्रमको उद्देश्य सफल भएको धारणा राखे।
कार्यक्रममा अर्थ सरोकार मिडिया पार्टनरको रूपमा, भने इम्पेरियल सेक्युरिटिज सहकार्यकर्ता संस्थाको रूपमा संलग्न थिए। सहभागीहरूले तालिम उपयोगी, प्रेरणादायी तथा व्यवहारमा आधारित रहेको प्रतिक्रिया दिएका छन्।
प्रशिक्षक भट्टराईले आगामी दिनमा देशका विभिन्न भागमा यस्ता ज्ञानमूलक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमले कर्णाली प्रदेशमा वित्तीय साक्षरतासँगै जिम्मेवार र आत्मविश्वासी लगानीकर्ता उत्पादनमा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ ।
