सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुनेभएको छ ।
असार १८ बिहीबार देखि प्रतियोगिता वीरेन्द्रनगर रंगशालामामा हुनेभएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने परिषद्का सदस्य सचिव रविन्द चन्दले जानकारी दिए ।
प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका फुटबल टोलीको सहभागिता रहने परिषद्ले जनाएको छ।
परिषद्का सदस्य सचिव रविन्द्र चन्दका अनुसार प्रतियोगिताको उद्देश्य प्रदेशका खेलाडीको प्रतिभा पहिचान गर्नु, फुटबल खेलको विकास र प्रवर्द्धन गर्नु तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी तयार गर्नु हो।
प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल नियम आईफ्याब लज अफ द गेम अनुसार नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रत्येक टोलीमा १८ देखि २० जना खेलाडी र ५ जना अफिसियल गरी अधिकतम २५ जनाको टोली दर्ता गरिने व्यवस्था गरिएको छ।
साथै, प्रतियोगितामा सहभागी प्रत्येक जिल्लाको टोलीलाई सहभागिता बापत ८० हजार रुपैयाँ उपलब्ध गराइने परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए । यसैगरी प्रथम हुने टोलीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी फेयर प्ले टोलीलाई १० हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, सर्वाधिक गोलकर्ता ५ हजार र प्लेयर अफ द म्याचलाई १५ सय नगदसहित विशेष पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जनाए । साथै सहभागी प्रत्येक खेलाडीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ।









