२०८२ मंसिर १६ , मंगलबार

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा




काठमाडौं : युइएफए नेसन्स कपको सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ। फ्रान्सले बेल्जियम विरुद्ध शाननदार पुनरागमन गर्दै फाइनल पुग्यो। दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो।​

एलिएन्ज एरिनामा बिहीबार भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे। बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको सुरुवाति गोल गरेपनि जितका लागि पर्याप्त भएन्।

प्रतिस्पर्धात्मक खेलको ३७ औं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले खेलमा अग्रता लिएको थियो। उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए। ४०औं मिनेटमा केभिन डि ब्रुएनकै पासमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो।

तर दुई गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेलमा जित निकाल्न सफल रह्यो। ६२औं मिनेटमा करिम बेन्जेमाले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। ६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए।

युरी टिलेमान्सले एन्टोइन ग्रिजमनलाई फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए। ८७ औ मिनेटमा लुकाकुले गरेको गोल अफसाइड हुँदा अग्रताबाट बेल्जियम चुकेको थियो। यद्धपि फ्रान्सका लागि ९०औं मिनेटमा थियो हर्नान्डेजले काउन्टर अट्याकमा बेन्जेमाको पासलाई सदुपयोग गर्दै फ्रान्सलाई ३-२ को सनसनिपुर्ण जित दिलाए।

अब फ्रान्सले उपाधिका लागि १० अक्टोबरमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। स्पेनले बुधबार राति इटालीलाई २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। सोही दिन तेस्रो स्थानको लागि इटाली र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार