मजदुर आन्दोलनको विरासत एमालेसँग छ –केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका हुन् । १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् ।

नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँगरहेको बताए । आफ्नो शुभकामना सन्देशमा ओलीले भने, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरवशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता भएको उनको भनाई छ । उनले एसियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेड युनियन महासंघ भएको बताए ।

एमाले नेतृत्वको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको ओलीले बताए । नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको जानकारी दिँदै उनले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको बताए ।