च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार हार, बार्यन अपराजित

काठमाडौं : रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि एकपक्षीय जित निकाल्यो। सोही समुहमा बार्सिलोना भने लगातार दोस्रो हारको सिकार भयो। म्युनिखले किभमाथि ५-० को रवाफिलो जित निकाल्दा बार्सिलोना भने बेनिफिकासँग ३-० ले पराजित भयो।

पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीले म्युनिखको घरेलु मैदान एलियान्ज एरिनाको मैदानमा १२औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता दिलाए। त्यसको १५ मिनेटपछि उनले दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको जर्मन महारथीका लागि मध्यान्तरपछि सेर्गी जिनाब्री, लोरियो साने र बैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे।

च्याम्पियन्स लिग समूह ‘इ’ मा बायर्नको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा बार्यनले बार्सिलोनामाथि ३-० को जित हासिल गरेको थियो।

कोम्यानमाथि खतरा

लगातार खराब प्रदर्शनबाट निस्कन नसकेको बार्सिलोना भने लगातार दोस्रो खेलमा पराजित भयो। योसँगै बार्सिलोना प्रिशक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको छ। बेन्फिका भ्रमणमा रोनाल्ड कोम्यानको टोली अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो।

घरेलु समर्थक माझ बेनीफिकाले बार्सिलोना माथि रवाफिलो प्रदर्शन गरेको हो। इरिक गार्सियाले समय सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए।

बुधबार राति नतिजापछि समूहमा दुई खेलको समाप्तीमा बायर्न ६ अंकका साथ शीर्ष स्थानमा रहँदा चार अंक जोडेको बेन्फिका दोस्रो स्थानमा उक्लिएको छ। यसैगरी डिनामो किभ एक अंकका साथ तेस्रो स्थानमा रहँदा अंक बिहिन बार्सिलोना चौंथो स्थानमा छ।