यी हुन् कांग्रेस सुर्खेतको सभापतिका सम्भावित उम्मेदवार?

सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली मंसिर १० गते जिल्ला सभापतिको चयन हुँदैछ । संस्थापक विरुद्ध पक्ष थानी प्यानलले प्रदेश र क्षेत्रीय निर्वाचनमा हार बेहोर्नु प¥यो । कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार बन्न केन्द्रीय महाधिवेशन प्रतिनिधि जितेकै हुनु पर्दछ । तर यो समूहले जिल्लामा एउटा पनि महाधिवेशन प्रतिनिधि जित्न सकेन । यो समूहमा जिल्ला सभापतिको उम्मेदवार छैन । यता संस्थापन पुर्ण बहादुर खड्का पक्षले भने निर्विरोध सभापति बनाउनका लागि छलफल गरिरहेको छ । संस्थापनपक्षबाट विषेशगरी तीन जना नेताहरु सभापतिका लागि दावेदार रहेको कांग्रेस स्रोतले बतायो । स्रोतका अनुसार कर्णाली प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, अहिलेका पार्टी सचिव टोप बहादुर रावत र नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का निवर्तमान पार्टी सभापति खड् पोखरेल सभापतिका लागि दावेदार छन् । सभापतिका लागि तीनै जनाले दावेदार गरेपनि १३ औं महाधिवेशनमा खड्का पक्षबाट उम्मेदवार भई तीन मतले पराजित भएक यज्ञबहादुर बुढाक्षेत्रीलाई सभापति बनाउन महांमन्त्री खड्का राजी भएपनि गुटभित्र सबैलाई मिलाएर जानुपर्ने भएकोले सहमतिमा आउन तीनै जनालाई सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता तप्त बहादुर बिष्टको स्वर्गारोहणपछि पश्चिम सुर्खेतमा उनको गुटलाई सम्हाल्न सक्ने यज्ञबहादुर बुढाक्षेत्री र टोप बहादुर रावत नै भएको कांग्रेस पश्चिमका नेता तथा कार्यकर्ताले बताउँदै आएका छन् । बिष्टसँग लामो समयसम्म साथ दिएका रावत पनि सभापतिका बलिया उम्मेदवार हुन् ।

नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सहमहामन्त्री, स्ववियु उपसभापति हुँदै पार्टीको जिल्ला सचिव बनेका रावत आफ्ने पूरै राजनीतिक जीवनमा बिष्टको एक अभिन्न अंग बने ।

अहिले त झन् रावतको अनुहारमा बिष्टको बिम्ब देख्ने नेता–कार्यकर्ताको कमी छैन । बिष्टको राजनीतिक जीवनमा सबैभन्दा नजिक, विश्वासिलो र भरपर्दो कोही थियो भने रावत नै थिए । त्यतिमात्र होइन, पश्चिम सुर्खेतमा बिष्टको गुट बलियो बनाउन, कांग्रेसको संगठन मजबुत बनाउन र बिष्टलाई सफल पार्न रावत महत्वपूर्ण सारथि बनिरहे ।

त्यसकारण पनि अहिले बिष्टको निधनपछि उनको राजनीतिक बिरासत बोक्ने उत्तराधिकारीको सबैभन्दा उपयुक्त र प्रभावशाली पात्रको रुपमा रावतलाई हेर्ने गरिन्छ । यस्तै पोखरेल पनि लामो समयदेखि महामन्त्री खड्काको समुहमा इमान्दार र लगनशिल भएर काम गरिरहेका छन् । उनलाई पनि क्षेत्र नम्बर १ बाट जिल्ला सभापतिको उम्मेदवारको रुमा अगाडी बढाइएको छ ।